मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह
२३ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताउनु भयो ।
सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेद्वारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताउनु भयो । उहाँले प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेब साइडमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
सहप्रवक्ता अर्यालले शिक्षित मतदाता तयार पार्दा मात्रै मतदाताको अर्थपूर्ण सहभागिता हुने बताउनु भयो ।













