संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आग्रह
२१ कार्तिक, काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताउनु भएको हो । निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उहाँको भनाई थियो । ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढि संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराउनु भयो । श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गर्नुभयो ।













