निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्नः प्रमुख निर्वाचन आयुक्त थपलिया
१६ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिईरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनु भयो । उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भिरतापूर्वक लिएको र सोही अनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढने बताउन भयो ।













