निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियोः प्रधानमन्त्री देउवा
९ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ ।
बुधवार नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उहाँले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नागरिकप्रति प्रतिबद्ध भएर काम गर्न सके देशको आर्थिक असमानता र विपन्नता हटाउन सकिने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रूपमा जोडिएको भन्दै यसको जगेर्ना गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।













