आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

स्वर्णिम खबर
८ कार्तिक २०७९, मंगलवार १८:०७

८ कार्तिक, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंसिर ४ गतेको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको छ ।
मंगलवार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्ति आउने उल्लेख गर्नुभयो । उहाँले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताउनुभयो । उहाँले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताउनु भयो ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले गठबन्धनका दलहरुले झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर मत लिने गरेको आरोप लगाउनुभयो । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उहाँको भनाई छ ।
अध्यक्ष बिजुक्छेले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*