गठबन्धनले बहुमत ल्याए मुलुकले स्थायित्व पाउँछः प्रधानमन्त्री देउवा
१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उहाँको भनाई थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिनु भयो । उहाँले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झांैता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गर्नु भयो । प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।













