आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी
३१ असोज, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिनुभएको हो । केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गर्नुभयो । उहाँले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उहाँको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताउनु भयो ।
आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहीता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिनुभयो । आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो ।
आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गर्नुभयो ।













