पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भीम रावल
२७ असोज, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्र विधिको कुरा उठाएकैले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको आरोप लगाउनुभएको छ ।
बिहिबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नेता रावले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण आफूलाई चुनावमा टिकट समेत नदिएको आरोप लगाउनुभयो । अछामको जिल्ला कमिटीले आफ्नो एकल नाम सिफारिस गर्दा पनि ओलीले टिकट नदिनु अछामी कार्यकर्ताको अपमान भएको पनि रावलको जिकिर छ । ओली एमालेको नेतृत्वमा आएदेखि पार्टी ध्वस्त हुँदै गएको आरोप लगाउँदै नेता रावलले अझै पनि यस्तै व्यवहार भएमा पार्टी विघटनको संघारमा पुग्ने चेतावनी दिनुभयो ।
यसैगरी नेता रावलले एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभयो । विगतमा एमाले कार्यकर्ताको रगत बगाउने, एमालेविरुद्ध लाग्नेलाई सूर्य चुनाव चिह्न दिएको भन्दै नेता रावलले सबै उम्मेदवारलाई जिताउन नसकिने स्पष्ट पार्नुभयो । नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिबद्ध उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।













