एमालेको साथ पाएका कमल थापाले दर्ता गराए उम्मेदवारी
२३ असोज, हेटौँडा । मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा एमालेको साथ पाएका उहाँले आइतबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराउनुभएको हो । थापाको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहेका छन् । उहाँले सुर्य चिन्हबाट चुनाव लड्न लागेका हुन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै अध्यक्ष थापाले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो । एमालेको सहयोगमा चुनाव लड्दा एमालेकै केही नेताहरु चुनावको अवसरबाट वञ्चित भए पनि यो बिषयलाई उनीहरुले बुझ्ने थापाले उल्लेख गर्नुभयो ।













