संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिन्छः बाबुराम भट्टराई
१७ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।
अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो । उहाँले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनु भयो । उहाँले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पार्नुभयो उहाँले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सत्तारुढ गठबन्धनमै रहेको बताउनुभयो । निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उहाँले दाबी गर्नुभयो । उहाँले समकक्षी नेताहरुलाई लोभ, लालच नगरीकन नयाँ पुस्तालाई अगाडी ल्याउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय मुद्दाहरुमा दलहरुका बीचमा एकरुपता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले दलहरुको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताउनु भयो । डा. भट्टराईले पुरानै शासकिय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताउनु भयो ।













