नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छः अध्यक्ष भट्टराई

स्वर्णिम खबर
८ आश्विन २०७९, शनिबार १७:५७

८ असोज, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको टिप्पणी गर्नुभयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताउनुभयो । अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गर्नुभयो ।
अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको टिप्पणी गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यका सबै अंगहरुमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गर्नुभयो ।
अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*