संविधानको संरक्षकबाट संविधान मिचियोः अध्यक्ष दाहाल
७ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताउनुभएको हो । उहाँले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि शुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धन कमजोर भए कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विधेयक प्रमाणिकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले परिवर्तनको रक्षाका लागि अब सडकमा जानुपर्ने आवश्यकता रहेको टिप्पणी गर्नुभयो ।उहाँले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको पनि बताउनु भयो ।













