उपमेयर कप भलिबल भोलीदेखि सुरु, जिल्ला स्तरीय महिला भलिबल असोज १० गतेबाट
५ असोज, हेटौँडा । चौथो संस्करण उपमेयर कप भलिबल प्रतियोगिता हेटौंडामा बिहिबार (भोली)देखि सुरु हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरले प्रतियोगिताबारे जानकारी गराएको हो । हेटौंडा ४ स्थित हुप्राचौरमा हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये ९ वटा महिला टिम र १२ वटा पुरुष टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । असोज ९ गते सम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष विष्टले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको प्रतिष्ठानका महासचिव बसन्त कुमार सिटौलाले बताउनुभयो । यसैगरी प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ । १० वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।













