राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको सत्तारुढ चार दलको निष्कर्ष

स्वर्णिम खबर
५ आश्विन २०७९, बुधबार १३:४४

५ असोज, काठमाडौँ । सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ ।
गठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्नेे कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो । राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको विज्ञप्तिमा भनिएको छ । यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको पनि गठबन्धनको आरोप छ । राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सबैलाई बैठकले आह्वान समेत गरेको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*