निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
३ आश्विन २०७९, सोमबार १३:५४

३ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभयो । मुलुकमा आएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको उहाँले बताउनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री देउवाले दाबी गर्नुभयो ।


प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरु तर्जुमा भइ कार्यान्वयनमा आएको पनि बताउनुभयो । उहाँले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटे पनबाट जतिसक्दो चाँडो मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विगतमा नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई संविधानले अन्त्य गरेको उल्लेख गर्नुभयो ।
उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*