जबरा निवासै रोकिए, सर्वोच्च अदालत र बालुवाटार परिसरमा प्रहरी परिचालन

स्वर्णिम खबर
२ आश्विन २०७९, आईतवार १३:२५

२ असोज, काठमाडौँ । सर्वोच्च अदालत जाने तयारीमा रहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिनुभएको छ ।
उहाँले आज बिहान ११ बजे आफू सर्वोच्च जाने बताउनुभएको थियो । तर निवासको बाहिर समेत प्रहरी तैनाथी बढाइएकाले आफू निस्कन नपाएको र सरकारले बल प्रयोग गरेर आफूलाई रोक्न खोजेको जबराको भनाइ छ । जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चासँगै उहाँको निवास बालुवाटार र सर्वोच्च अदालत परिसरमा बिहानैदेखि प्रहरीको उपस्थिति बढाइएको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन लाग्नुभएको हो । यता नेपाल बार एसोसिएशनले उहाँलाई सर्वोच्चमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभयो । उहाँले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताउनु भयो ।
फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि उहाँ निलम्बनमा पर्नुभएको हो । हिजो संसद्को कार्यकालको अन्तिम दिन महाअभियोग सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त हुने निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाएको छ । संसद् सचिवालयले पनि जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*