नागरिकता विधेयक हीत विपरित, सत्ता टिकाउन घृणित काम भएः ईश्वर पोखरेल
२४ भाद्र, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने काममा गठबन्धन लागिरहेको पनि बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताउनु भयो । उहाँले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा र भत्र्सना गर्नुपर्ने बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहीत, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताउनु भयो ।













