प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसके मात्रै भ्रष्टाचार रोक्न सम्भव छः अध्यक्ष दाहाल

स्वर्णिम खबर
२१ भाद्र २०७९, मंगलवार १५:१३

२१ भाद्र, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने दाबी गर्नुभएको छ ।
मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशको आवश्यकताको अनुकूल नरहेको टिप्पणी गर्नुभयो । वर्तमान प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टाचार धेरै मौलाएको उहाँले उल्लेख गर्नुभयो । निर्वाचन र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउँदै अध्यक्ष दाहालले यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने जिकिर पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गर्नुभयो ।
संसद् आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*