निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

स्वर्णिम खबर
१८ भाद्र २०७९, शनिबार १४:४७

१८ भाद्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभएको हो । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताउनु भयो । उहाँले यस भन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभयो । नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्न नहुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*