जबराको बयान अझै लम्बिने, संसदीय समिति माथि नै जबराले प्रश्न उठाए
१६ भाद्र, काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दावी गर्नुभएको छ ।
प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उहाँले यसको कुनै औचित्य नभएको दावी गर्नुभएको छ । समितिले बिहीबार दोस्रो दिन लिएको बयानका क्रममा उहाँले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दावी गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताउनु भयो । प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको सांसद् विश्वकर्माले प्रतिक्रिया दिनुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोगलाई निस्पष्क्षताका साथ कसरी छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा छलफल हुने बताउनु भयो । यो सँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको थियो । अर्को बैठक १९ गतेका लागि बोलाइएको छ ।













