जबराको भावनात्मक जवाफ, सीमा भन्दा बाहिर गएर जवाफ दिएको सदस्यहरुको प्रतिक्रिया
१५ भाद्र, काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएको छ ।
बुधबार महाअभियोग सिफारिस समिति समक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गर्नुभएको हो । नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उहाँको तर्क छ । यस्तै बयानको क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानन्यायाधीबाट निवृत्त भइसकेपछि पनि अदालत चलाउन खोजेको बताउनुभएको हो ।आफूले भाग नदिएपछि पूर्वप्रधानन्यायाधीशहरू आन्दोलनमा लागेको पनि जबराको भनाइ थियो ।

यता नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताउनुभएको छ । उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताउनु भयो । सचेतक विश्वकर्माले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले सामान्य रुपमा लिएको पनि प्रतिक्रिया दिनुभयो ।
यस्तै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्वित प्रधानन्यायाधीश दजबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभयो । उहाँले महाअभियोग प्रश्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आउनुभएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताउनु भयो ।
प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीवार ११ बजे बस्नेछ ।













