एमालेको सहमतिनै नागरिकता विधेयक आएको होः गृहमन्त्री खाँण
१३ भाद्र, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सहमतीमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनु भएको छ ।
सोमबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयकको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले यस्तो दावी गर्नु भएको हो । एमाले अध्यक्ष केपी ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले सो विधेयक अघि बढाएको र संसदको दुवै सदनबाट पारित गराएको गृहमन्त्री खाँणको जिकीर थियो । उहाँले सो विधेयक केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशमा आधारित रहेको पनि समितिलाई जानकारी गराउनुभयो । नागरिकता जस्तो विषयलाई रोक्नु हुँदैन भन्ने मनसायले सो विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपति समक्ष पुगेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसमा सबै राजनीतिक दलहरुको पनि सहमती रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको सो विधेयकमा केही समवेदनशील र महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नागरिकताका सम्बन्धमा संविधानकै केही प्रावधान परिष्कृत र परिमार्जित गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अघि बढाउन पनि सरकार तयार रहेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री खाँणले विवाह गरेर भित्र्याइएका विदेशी बुहारीलाई नागरिकता दिने विषय, पहिचान नखुलेका अल्पसंख्यकलाई दिने नागरिकताको विषयमा सरकारले गम्भिर भएर सम्वद्ध पक्षसँग छलफल गरेर अघि बढने पनि बताउनु भयो ।













