नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाईयो
१२ भाद्र, काठमाडौँ । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रिय सभाको आईतवार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव बैठकमा पेस गर्नुभएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो । आईतवार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउनुभएको थियो । राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक भदौ २ गते बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले यथावत रुपमा पारित गरेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीवार दिउँसो २ः५९ बजे बस्नेगरी बोलाइएको छ ।













