निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग नेता सिंहको माग

स्वर्णिम खबर
१० भाद्र २०७९, शुक्रबार १७:०५

१० भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहीत हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले यस अघिका निर्वाचन पनि नेपाली काँग्रेसले इमान्दारिता पूर्ण गरेको र अहिले पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहीत निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेता सिंहले काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाउनु भयो । उहाँले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको बिरोध गरिरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाइदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर अघि बढाउन नसकेको जिकिर गर्नुभयो ।
नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भुमिका खेलेको भन्दै उहाँको स्मरण गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*