काँग्रेस नेता गिरीको आजै अन्त्येष्टि हुने
५ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।
प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गएराति साँढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उहाँको पार्थिक शरिरमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गर्नु भएको छ । त्यस अवसरमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति ंरहेका थियो । यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
नेता गिरीको आजै अपरान्ह २ बजेपछि अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ । नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । नेताहरुले उहाँको बौद्धिकताको अभाव नेपाली राजनीतिमा सदा खट्कीरहने बताउनु भएको छ । कर्मले, लेखनले, विचारले, समयले र परिश्रमले नेपालको समाजवादी आन्दोलनको सबैभन्दा अग्ला व्यक्तित्व गिरी भएको पनि सामाजिक सञ्जालहरुमार्फत् नेताहरुले टिप्पणी गर्नु भएको छ । निष्ठामा अडिग इमान्दार जनप्रतिनिधिको रुपमा पनि उहाँलाई सबैले चिन्ने गरेका थिए । गिरीकै निधनका कारण आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित गरिएको छ ।













