राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छः सांसद ज्ञवाली
२ भाद्र, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ ।
बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो । नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पु¥याएर आवश्यक निर्णय लिनुपर्ने उहाँको भनाई थियो । सांसद ज्ञवालीले सो विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रश्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण समेत गराउनु भयो । जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सोही अनुसार छलफललाई अघि बढाउनुपर्ने आवश्यक औंल्याउनु भयो । सांसद ज्ञवालीले बहुमतको आधारमा सो विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने पनि बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले संसदमा विचाराधिन सो विषयलाई सत्तारुढ गठबन्धनले जस्ताको त्यस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको संसद र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाउनु भयो













