निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन सिंगो पार्टी पंक्तिलाई प्रधानमन्त्री देउवाको निर्देशन

स्वर्णिम खबर
३० श्रावण २०७९, सोमबार १५:२१

३० श्रावण, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*