सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य छैनः शंकर पोखरेल
२४ श्रावण, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ ।
महासचिव पोखरेलले आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्नुपर्ने जिकिर गर्नुभयो । निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुँदै उहाँले बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जानु लोकतन्त्रमा स्वभाविक भएको तर चुनावमा गठबन्धन गरेर जाने कुरा कुनै पनि देशको लोकतन्त्रमा नभएको दाबी गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाउनु भयो ।
महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पार्नु भयो ।













