निर्वाचनको मिति घोषणा गर्न प्रतिपक्षीसंग परामर्श गर्नुपर्छ भन्ने छैनः प्रवक्ता कार्की
२० श्रावण, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान र कानुन अनुसारनै भएको बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाईरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिनु भएको हो । उहाँले निर्वाचन आयोगको परामर्श अनुसार सरकारले सो निर्वाचनको मिति घोषणा गरेको पनि पटकपटक दोहो¥याउनु भयो । मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरा सत्यता नरहेको दावी समेत गर्नुभयो । उहाँले निर्वाचनको मिति घोषणा गर्नका लागि क्याविनेट बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोन संवाद गर्न खोजेको तर सम्पर्क नभएको पनि जानकारी दिनु भयो ।
मन्त्री कार्कीले सत्तारुढ दलहरुबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यक्ता अनुसार छलफल गर्दै अघि बढने सहमती पनि गरिएको बताउनु भयो ।













