मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने सरकारको निर्णय
१९ श्रावण, काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ ।
बिहीवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो । उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो । निर्वाचन आयोगले असार २२ गते प्रधानमन्त्री देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो । प्रधानमन्त्री देउवाले केही दिनअघि नै चुनावको मिति तोक्ने तयारी गरे पनि गठबन्धनमा सहमति हुन नसकेपछि चुनावको मितिबारे सरकार अनिर्णित थियो ।













