प्रचण्डको अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा
१४ श्रावण, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।
शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताउनु भयो । उहाँले गत स्थानीय तहको निर्वाचनबाट नेपालमा रहेको एकमात्र माओवादी आफुहरु पुष्टि भएको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । उहाँले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताउनु भयो ।













