सार्वभौमिकता र अखण्डताको रक्षाका लागि असंलग्न परराष्ट्र नीति उपयुक्तः राष्ट्रपति भण्डारी
१४ श्रावण, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमिकता र अखण्डताको रक्षाका लागि असंलग्न परराष्ट्र नीति उपयुक्त हुने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालले करिव ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आइरहेको उल्लेख गर्दै वर्तमान समयमा यसको महत्व अझ बढेको बताउनुभयो । शनिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित अन्तर्राष्ट्रिय कानुन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालले ठोस योगदान गर्दै आइरहेको जिकिर गर्नुभयो । उहाँले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने पनि उल्लेख गर्नुभयो । विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीले भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुन्द्र सम्बन्धि कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको बताउनुभयो । उहाँले न्यायमा आधारित विश्व व्यवस्था हुनुपर्छ भन्ने मान्यतालाई अन्तर्राष्ट्रिय सम्मेलनले थप मजबुद बनाउने बताउनुभयो ।
सम्मेलनमा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अन्तराष्ट्रिय कानुनले राष्ट्रहरुबीचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।













