करको दर निर्धारणमा अनाधिकृत व्यक्तिको प्रवेश देखिएनः संसदीय समिति
१३ श्रावण, काठमाडौँ । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेश गर्नुभएको हो । जसमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ । अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन निष्कर्ष निकालेको हो । यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्तिहरु प्रवेश गराइ करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले असार २२ गते संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो ।













