एसपीपीलाई कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्योः परराष्ट्रमन्त्री
१३ श्रावण, काठमाडौँ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी दिँदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनु भयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनुभयो । परराष्ट्र मन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेता पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नु भयो । उहाँले नेपालको सर्वोच निकाय मन्त्रिपरिषद् गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो । मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनुभयो । मन्त्री खड्काले सांसद,सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गएको बताउनु भयो । उहाँले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार गर्नुभयो ।













