सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री देउवा विरुद्ध नाराबाजी

स्वर्णिम खबर
९ श्रावण २०७९, सोमबार १८:१९

९ श्रावण, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएको छ ।
सोमवार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवको बिरुद्धमा नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गर्, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भुमिका अतुलनीय रहेको बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भुमिकाको प्रशंसा गरेर नसकिने बताउनु भयो । ब्रिटिश साम्राज्यताका दक्षिण एशियाली मुलुकलाई एक हुन आग्रह गर्नुभएको र दक्षिण एशियामा नै एक उदाहरण भएर प्रसिद्धी कमाउनुभएको व्यक्तिको रुपमा भीमसेन थापालाई स्मरण गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्वपूर्ण आर्थिक सुधारका कार्यहरु गर्नुभएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*