धेरै पैसा खर्च नगरे चुनाव जित्न गाह्रो छः अध्यक्ष दाहाल
९ श्रावण, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताउनु भयो । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताउनु भयो । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताउनु भयो । उहाँले देशको शासन प्रणाली पनि देश अनुकुल नभएको दाबी गर्नुभयो । उहाँले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गर्नुभयो । उहाँले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने बताउनु भयो । अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको उल्लेख गर्नुभयो ।













