लोकतन्त्रलाई बलियो बनाउन पत्रकारको भुमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा
६ श्रावण, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढीरहेकोले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन काममा लाग्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय शक्तिहरु र नेपालका कम्युनिष्टहरु एकतावद्ध भइ नेपाली काँग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताउनु भयो ।













