गठबन्धनमा आफैं फुट आउँछ, चाँदीको तरबार आवश्यक छैनः ओली

स्वर्णिम खबर
४ श्रावण २०७९, बुधबार १७:२६

४ श्रावण, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दावी गर्नु भएको छ ।
अध्यक्ष ओलीले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्क समेत गर्नुभयो । सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनु भयो । देश बनाउने पार्टीको महान उद्देश्यमा तगारो बनेकोलाई गठबन्धन आगामी निर्वाचनपछि मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाउनु भयो । आगामी मंसीर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उहाँको आशंका थियो । ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गर्नु भयो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*