तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प छैनः योगेश भट्टराई

स्वर्णिम खबर
३ श्रावण २०७९, मंगलवार १८:२७

३ श्रावण, काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेस सँगको गठबन्धन त्यागेर एकतामा आउन माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आग्रह गर्नुभएको छ ।
मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । उहाँले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताउनु भयो । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उहाँले अगाडी जाने बारेमा मात्रै सोच्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिनुभयो ।
सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउनुभएको छ । उहाँले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताउनु भयो । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उहाँको भनाई छ ।
उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*