उपसभामुख भुसालद्वारा पदभार ग्रहण
१ श्रावण, काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले उपसभामुखको पदभार ग्रहण गर्नुभएको छ ।
आईतवार राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताउनु भयो । उहाँले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महशुस गरेको बताउनु भयो । उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भुमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउन आफ्नो महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।उपसभामुख भुसाल गत शुक्रवार नेकपा उमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।













