सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छः प्रचण्ड

स्वर्णिम खबर
३२ असार २०७९, शनिबार १५:३३

३२ असार, काठमाडौँ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ ।
भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताउनु भएको हो । त्यस अवसरमा उहाँले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताउनु भयो ।
अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पार्नु भयो ।
सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष दाहाल भारत भ्रमणमा जानु भएको हो । यस क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसक्नु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*