संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दोः वामदेव गौतम
२८ असार, काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताउनुभएको हो । उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताउनु भयो । सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताउनु भयो । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधान विपरित् भइरहेका गतिविधि सहन नसक्दे चेतावनी दिनुभयो । उहाँले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताउनु भयो । उहाँले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद् भएको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य गौतमले करिव ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार र राजनीतिक दलहरुको लापरबाहीप्रति महिला सदस्यहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।













