गठबन्धन देशका लागि मृत भइसक्यो, कायम राखेर गए हैजा फैलाउँछः ओली
२७ असार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिनु भएको छ ।
वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँडन नसकिने अध्यक्ष ओलीको तर्क थियो । सोमबार विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो । सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने ओलीको भनाई थियो । उहाँले सरकारका सबै अंग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गर्नु भयो । उहाँले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहो¥याउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिले नै टुटिसकेको हुने दावी समेत गर्नु भयो । गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै उहाँले सत्ता मात्र सबथोक नभएको बताउनुभयो । अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाउनु भयो ।
उहाँले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पार्नु भयो ।













