गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री देउवा
२१ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको हो । उहाँले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी र गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको समेत उल्लेख गर्नुभयो ।प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताउनु भयो ।
यसैगरी नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गर्नुभयो । उहाँले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने टिप्पणी गर्नुभयो । उहाँले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताउनु भयो । उपसभापति गुरुङले गठबन्धनै दलहरुले काँग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताउनु भयो । उपसभापति गुरुङले व्यवस्था परिवर्तन गरेर पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताउनुभयो ।













