प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र मन्त्रालय

स्वर्णिम खबर
१९ असार २०७९, आईतवार १७:१२

१९ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनु भएको हो । पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबैकुरा तयारी पुगेपछि मितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यमहरुलाई जानकारी दिने स्पष्ट पार्नु भयो । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनुभयो ।
प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पार्नुभयो । सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भईरहेकाले पत्र भने गई नसकेको उहाँको स्पष्टिकरण थियो । प्रवक्ता लम्सालले अध्ययन भईसकेपछि मन्त्रीपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*