हेटौडा उपमहानगरकाे नगर सभा अझै सुरु हुन सकेन
१० असार, हेटौडा। नेकपा एमालेको निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ ।
विहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशन नगरसभामा बहुमत रहेको एमालेबाट निर्वाचित सदस्यहरुले उपस्थितिमा हस्ताक्षर नगर्दा अझै सुरु हुन सकेको छैन । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि उपस्थित रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन् । उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका छैनन् । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।













