हेटौंडा उपमहानगरपालिकाः नीति तथा कार्यक्रम पारित, कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार
७ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
मंगलबार विहान बसेको नगर कार्यपालिकाको वैठकले आगामी आव २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । कार्यपालिका वैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट असार १० गते बस्ने नगरसभामा पेश गरिनेछ । स्थानीय तहको निर्वाचनपश्चात् पहिलो पटक नगरसभाको वैठक बस्न लागेको हो । आगामी आवमा हेटौंडा उपमहानगरको बजेट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी ल्याउने तयारी भइरहेको छ ।
यता बैठक संचालन कार्यविधि संसोधनको विषयमा कुरा नमिलेपछि नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । बहुमत कार्यपालिका सदस्य रहेको उपमहानगरपालिकामा एमालेको मागको विषयमा मेयर तथा उपमेयर लचिलो नभएको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो । बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग एमालेले राखेको थियो । तर मागको विषयमा मेयर र उपमेयर लचिलो नबनेको भन्दै आफुहरुले वाध्य भएर बैठक छाड्नु गर्नुपरेको वडा नंबर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताउनुभयो । सचेतक मोक्तानले अझै पनि राजनीतिक प्रतिशोध साध्ने काम भैरहेको आरोप लगाउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकिृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५४ जना सहित पूर्ण बहुमतमा छ ।













