मुल्यवृद्धिले जनता मारमा परेको भन्दै अनेमसँघद्वारा प्रजिअलाई ज्ञापनपत्र
१६ जेठ, हेटौँडा । गठबन्धन सरकारले जनतालाई पेट्रोल डिजेल र खाना पकाउने ग्याँसको मुल्य वृद्धि गरि जनतालाई मारमा पारेको भन्दै अखिल नेपाल महिला सँघ मकवानपुरले प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय महिला अधिकार दिवसको अबशरमा सोमबार सँघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराउनु भएको हो । ज्ञापनपत्रमा दैनिक उपभोग सामग्रीको मुल्य नियन्त्रण गरि सर्वसुलभ, र सुपथ मुल्यमा पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । देशमा बढ्दै गइरहेको महिलामाथि हुने यौनजन्य हिंसा तथा बलात्कारको सम्बन्धमा हदम्यादका प्राबधान हटाउनृ गरि संसोधन गर्न समेत माग गरिएको छ । हिंसा पिडितलाई संरक्षणको साथै तत्काल क्षतिपुर्ति सहितको छिटो न्याय दिने प्रणालीमार्फत दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ । अनेमसँघ मकवानपुरको समन्वयमा भएको ध्यानाकर्षण कार्यक्रममा वागमती प्रदेश सभा सदस्य जुनेलीमाया श्रेष्ठ, अखिल नेपाल महिला सँघ केन्द्रिय सचिवालय सदस्य पद्मा पौडेल, केन्द्रिय सदस्यहरु मेनका दाहाल, पार्वती राना लगायतको उपस्थिति रहेको थियो ।













