सामुदायिक कोभिड रेन्सपोन्स टीमलाई सहयोग गर्ने दाताहरु बढ्दै
१२ जेठ, हेटौँडा । कोरोना भाईरसलाई स्थानीय क्षेत्रबाट नै नियन्त्रण गर्न गठन भएको कोभिड–१९ सामुदायिक रेन्सपोन्स कार्यदल हेटौडा–६ र १७ लाई सहयोग गर्ने दाताहरु बढदै गएका छन ।
बुधवार कार्यदललाई हेटौडा–६ हातीलेट र रामनगरका स्थानीयहरुलाई आर्थिक सहयोग गरेका छन । युवा परिचालन तथा स्वयसेवक उपसमितिका लक्ष्मण पौडेल, आशिष चौलागाँई, सुपेन्द्र खनाल, धनेन्द्र विष्ट र एलिस सञ्जेलको टोलीले संकलन गरेको ६८ हजार १ सय २८ रुपैयाँ कार्यदलका संयोजक एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईलाई हस्तान्तरण गरिएको छ । यसैगरि हेटौडा–६ हातीलेट निवासी पुष्पराज पराजुलीले कार्यदललाई एक बोरा चामल उपलव्ध गराएका छन । कार्यदलले वडा नं. ६,७ र १७ का संक्रमितको घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गर्नुको साथै अक्सिजन सहयोग र कोरानाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न समेत वितरण गर्दै आएको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताउनुभयो । कार्यदलले मकवानपुरगढी स्वास्थ्य चौकी, शिखरकटेरीलाई ३ थान अक्सिजन, स्वास्थ्य सामाग्री र मकवानपुरगढी गाउँपालिकाद्वारा वडा नं. ३ मक्रान्चुलीमा सञ्चालित आईसोलेसन वार्डलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । हालसम्म करिव ४ लाख १० हजार संकलन भएको र दाताहरुबाट रकम आउने क्रम जारी रहेको आर्थिक तथा राहत संकलन उपसमितिका सहसंयोजक देवराज गौतमले बताउनुभयो । यो अभियानमा विदेशमा रहेका व्यक्तिहरुबाट समेत सहयोग भैरहेको कार्यदलका सदस्य उदय विडारीले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा कार्यदलका सदस्य पवन दुलाल, सरिता मिश्र, सुन्दर आचार्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।













