सरकार गठनमा सकस छैन, एमाले–नेकपा–राप्रपा सहकार्य उपयुक्तः नेता जम्कट्टेल
१२ साउन, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा नयाँ सरकार गठनका लागि आफूहरूलाई कुनै सकस नरहेको दाबी गर्नुभएको छ ।
प्रदेशको वर्तमान राजनीतिक अंकगणित र दलहरूबीच भइरहेको संवादलाई आधार मान्दै उहाँले नेकपा, एमाले र राप्रपाबीचको सहकार्यबाट स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो ।
मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकपछि प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता जम्कट्टेलले नयाँ सरकार गठनका विषयमा औपचारिक छलफल मंगलबारदेखि नै सुरु भएको जानकारी दिनुभयो । उहाँले वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई संविधानले दिएको एक महिनाको समयसम्म आफ्नो दायित्व पूरा गर्न दिने पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेशको राजनीतिक परिस्थिति हेर्दा सरकार गठनका लागि केही सम्भावित विकल्प रहेको उल्लेख गर्नुभयो । प्रमुख तीन दलमध्ये कुनै एक दल प्रतिपक्षमा बसेर सरकार बन्न सक्ने वा नेकपा, एमाले र राप्रपाबीच सहकार्य गरेर नयाँ सरकार गठन हुन सक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
वर्तमान परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच तत्काल सहकार्य हुने वातावरण नदेखिएकाले एमाले, नेकपा र राप्रपाको गठबन्धन नै बढी व्यावहारिक र उपयुक्त विकल्प भएको उहाँले बताउनुभयो ।
नेता जम्कट्टेलले राप्रपासँग सरकार गठनका विषयमा सकारात्मक संवाद भइरहेको जानकारी दिँदै सम्मानजनक ढंगले सहमति जुटाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि दलको स्वाभिमानमा आँच नपुग्ने गरी साझा सहमतिमा सरकार गठनको प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।
उहाँले विगतदेखि नै प्रदेशका प्रमुख राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण रहेको उल्लेख गर्दै अहिले पनि सोही आधारमा राजनीतिक समझदारी अगाडि बढिरहेको बताउनुभयो । सरकार गठनलाई लिएर अनावश्यक अन्योल सिर्जना गर्न आवश्यक नरहेको भन्दै उहाँले दलहरूबीचको संवादले छिट्टै सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।
एमाले र नेकपाबीच सम्भावित सहकार्यबारे पार्टीभित्र विभिन्न धारणा रहेको स्वीकार गर्दै नेता जम्कट्टेलले त्यसलाई स्वाभाविक राजनीतिक बहसका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार पार्टीभित्र एक पक्षले विगतमा एमालेसँगको सहकार्य टिक्न नसकेको अनुभवका कारण पुनः त्यही अवस्था दोहोरिन सक्ने चिन्ता व्यक्त गरेको छ भने अर्को पक्षले राष्ट्रिय राजनीतिक आवश्यकता र बामपन्थी शक्तिहरूको एकताका लागि सहकार्य अपरिहार्य रहेको धारणा राखेको छ । यद्यपि ती फरक मतलाई पार्टीभित्रको स्वस्थ बहसको रूपमा व्याख्या गर्दै उहाँले कुनै प्रकारको विवाद वा असहमति नरहेको स्पष्ट पार्नुभयो । पार्टीको आधिकारिक निर्णय भएपछि सबै नेता तथा सांसदले एकमत भएर त्यसको कार्यान्वयन गर्ने परिपाटी रहेको उहाँले बताउनुभयो ।
नेता जम्कट्टेलले एमालेसँगको सम्भावित सहकार्य कति समयसम्म टिक्छ भन्ने कुरा समय, परिस्थिति र दुवै दलको व्यवहारले निर्धारण गर्ने उल्लेख गर्नुभयो । विगतका अनुभवबाट आवश्यक पाठ सिकेर यसपटक सहकार्यलाई अझ विश्वासिलो, पारदर्शी र दीर्घकालीन बनाउने प्रयास हुने उहाँको भनाइ थियो ।
उहाँले वर्तमान राष्ट्रिय तथा प्रदेश राजनीतिक परिस्थितिमा एमाले र नेकपाबीच सहकार्य गर्नुको विकल्प नरहेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, संविधानको कार्यान्वयन, सुशासन, विकास निर्माण र जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दामा दुवै दलको साझा एजेन्डा रहेकाले सहकार्यको बलियो आधार बनेको बताउनुभयो ।
नेता जम्कट्टेलले एमाले र नेकपाबीचको सहकार्य सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व, प्रभावकारी शासन र प्रदेशको विकासका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेको भन्दै आगामी सरकार जनअपेक्षाअनुसार परिणाममुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।















